उदयपुर, जेठ ५ । उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर १ लाई बालमैत्री घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आईतबार गरिएको सर्वपक्षिय सूचाङ्क अनुगमनपछि टोलीले अब केही सानातिना काम मात्र बाँकी रहेको निस्कर्ष निकालेको हो ।
सहजकर्ता संस्था जाल्पा एकीकृत विकास समाजका अनुसार करिब ९५ प्रतिशत काम पूरा भएको छ । ताप्ली गाउँपालिका प्रमुख ढुंगराज विक, वडाध्यक्ष उद्धव हमाल, जिल्ला समन्वय समिति उदयपुरका उपाध्यक्ष तेजप्रसाद गिरी, पत्रकारलगायतको संयुक्त टोलीले वडाभित्र हुने बालमैत्री संरचना, व्यवस्थापन र सामाजिक तथा शैक्षिक अवस्थालगतबारे अनुगमन गरेको थियो । टोलीमा हुरेण्डेक र जाल्पा एकीकृत विकास समाजका कर्मचारी तथा प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।
सो क्रममा बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ सूचाङ्कको आधारमा मूल्यांकन गरिएको थियो । वडा कार्यालयमा पुगेको टोलीले वडाभित्र गठित बिभिन्न बालसंजाल र बालबालिकासम्बन्धी संस्थाहरुको बारेमा जानकारी लिएको थियो । त्यस्तै बिभिन्न विद्यालयहरुमा पुगेर त्यहाँको भौतिक संरचना र बालमैत्री व्यवस्थाबारे शिक्षकहरुसँग छलफल गरेको थियो । सो क्रममा विद्यालय तथा वडामा बालबालिकालाई प्राथकिमकतामा राखेर बिभिन्न गतिबिधिहरु संचालन भइरहेको पाइएको जिसस उपप्रमुख गिरीको भनाई छ ।
तोकिएका केही कागजी प्रक्रिया पूरा हुने बित्तिकै अबको केही दिनभित्रै घोषणा गर्न सकिने बताइएको छ । सूचाङ्क मूल्यांकन तथा अनुगमन टोलीमा जिसस अधिकारी सिर्जना क्षेत्री, हुरेण्डेक उदयपुरका अध्यक्ष शंकर थापा, जाल्पा एकीकृतका उपाध्यक्ष केशवकुमार कार्की, नेपाल पत्रकार महासंघ उदयपुरका सहसचिव देवराज राई जिसस सूचना अधिकारी दीपक पोखरेल, सुवास विक, जाल्पा एकीकृतका शंकर रिखाममगर, वडा सचिव देवेन्द्र हमाल हुरेण्डकका प्रतिनिधि प्रदिप रायमाझीलगायतको उपस्थिती रहेको थियो । यसअघि ताप्ली र रौतामाई र उदयपुरगढीका थुप्रै वडाहरु बालमैत्री घोषित भइसकेका छन् । केही प्रक्रियामा छन् भने अन्यले कम्तिमा २०८३ सालभित्र पूरै वडा बालमैत्री बनाउने प्रतिबद्धताका साथ काम अगाडि बढाउदै आएका छन् ।
वडा कार्यालयद्धारा बिभिन्न समय बालमैत्री घोषणाका लागि आवश्यक पूर्वाधार तथा सूचाङ्कबारे तयार पारेको काजगपत्र अनुगमन गर्दै टोली ।