उदयपुर, जेठ २८ । उदयपुरको उदयपुरगढी गाउँपालिकाका ६० घरपरिवारलाई स्वच्छ खानेपानीका लागि निर्मित धारा समुदायलाई हस्तान्तरण गरिएको छ । वर्ल्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा मानवअधिकार वातावरण विकास केन्द्र (हुरेण्डेक)ले निर्माण गरेको खानेपानी धारा एक कार्यक्रमबीच समुदायलाई जिम्मा लगाइएको हो ।
उदयपुरगढी गाउँपालिका वडा नम्बर १ व्वासेटाँरमा सम्पन्न आयोजना २०८१ साल चैत ९ गते सुरु भएको थियो । समुदाय (उपभोक्ता)कै २० प्रतिशत श्रमदान र भौतिक लगानी समेत रहेको सो योजना २०८२ साल जेठ ४ गते सम्पन्न भएको थियो । हुरेण्डेक–वर्ल्डभिजनको भ्याटसहित १० लाख २६ हजार तीन सय ६९ रुपैयाँ ३६ पैसा र उपभोक्ता समितिको श्रमदान २ लाख ४९ हजार तीन सय १९ रुपैयाँ ३६ पैसा गरी कुलन १२ लाख ७५ हजार ६ सय ८८ रुपैयाँ ७५ पैसा लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको वर्ल्डभिजनका उदयपुर संयोजक आनन्द खड्काले जानकारी दिए ।
संस्थाका अनुसार आयोजना अन्तर्गत क्याचमेन्ट इन्टेक १ थान, डिस्ट्रीव्युशन च्याम्बर १ थान, खानेपानी धारा १० वटा, खानेपानी पाईपलाईन व्यवस्थापनका लागि तीन हजार ७ सय ३० मिटरसहित हस्तान्तरण गरिएको हुरेण्डेकका अध्यक्ष शंकरबहादुर थापाको भनाई छ । योजनासम्बन्धी बिस्कृत लागत बिवरण हुरेण्डेक परियोजना संयोजक बिकल सुबेदीले प्रस्तुत गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा उदयपुरगढी १ तावाश्रीका वडाध्यक्ष दिलबहादुर रानामगर, उदयपुरगढी ५ का वडाध्यक्ष कुमार अधिकारी, व्वासेटाँर खानेपानी निर्माण तथा मर्मत आयोजना उपभोक्ता समितिका अध्यक्ष बलबहादुर अधिकारी, उपभोक्ता तथा समितिका पदाधिकारी, वर्ल्डभिजन र हुरेण्डेकका प्रतिनिधि तथा पत्रकारलगायतको पनि उपस्थिती रहेको थियो ।