उदयपुर । बालबालिका देशमा भविष्य हुन् । तिनै भविष्यलाई राज्यले वर्तमानमा उचित लगानी गर्दै परिवार, समाज, समुदाय र राष्ट्रकै लागि महत्वपूर्ण जनशक्तिको हिस्सा बनाउने काम तीव्र रुपमा अगाडि बढीरहेको छ । जसमा स्थानीय सरकारसँगै बिभिन्न गैरसरकारी संस्थाहरुको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको छ ।
त्यस्तैगरी बाल अधिकार सुनिश्चितताको अभियानलाई सफल बनाउन उदयपुरको ताप्ली गाउँपालिका ३ लाई पनि बालमैत्री वडा घोषणा गरिएको छ । जुन जिल्लाकै पछिल्लो अर्थात आठौँ स्थानमा घोषित भएको वडा हो । गाउँपालिका र वडा कार्यालयसँगै जाल्पा एकीकृत विकास समाज, वल्र्डभिजन इन्टरनेशनल नेपाल, हुरेण्डेक उदयपुर र साहस नेपालसहितका बिभिन्न ४ गैरसंस्थाहरुले सो क्षेत्रमा लामो समयदेखि निरन्तर काम गर्दै आएका थिए । नेपाल सरकारले जारी गरेको बालमैत्री घोषणाका लागि ५ बिधामा तोकिएका ५१ सूचांक पूरा भएसँगै घोषणा गरिएको हो ।
ताप्लीको इनामेस्थित विद्यालय परिसरमा आयोजित कार्यक्रममा ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगराज विश्वकर्माले बालमैत्री वडा घोषणासँगै यसको दीगोपनका लागि निरन्तरण अनुगमन र स्थानीय सरकार पनि सचेत रहेको बताउनुभयो । उहाँले बालमैत्री वडा घोषणापछि वडाभित्रका हरेक घर बालमैत्री वातावरण हुने विस्वास व्यक्त गर्नुभयो ।त्यसतै उपाध्यक्ष धनामाया मगरले बालमैत्री वडाले बालबालिकाको अधिकार सुनिश्चिततामा थप टेवा पुगेको बताउनुभयो । त्यस्तै ताप्ली गाउँपालिकाका प्रमु्ख प्रशासकीय भक्तकुमार राईले पनि बालमैत्री वडाका लागि अभिभावक, विद्यालय शिक्षक र स्थानीयसरकारसँगै बिभिन्न संघसंस्थाबीच समन्वय हुनुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, नागरिक समाज, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मीलगायतको उपस्थिती रहेको थियो । त्यस्तै बिभिन्न सांस्कृतिक नृत्यसँगै जातीय झाँकीहरु समेत प्रदर्शन भएको थियो ।
कार्यक्रममा बालमैत्री घोषणा सभामा ताप्ली ३ का वडाध्यक्ष रंगमान तामाङले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । वडाध्यक्ष तामाङद्धारा प्रस्तुत प्रतिबेदनमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट जारी बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यबिधि २०७८ बमोजिम यस वडाले आर्थिक वर्ष २०८०÷०८१ देखि नै बालमैत्रीय स्थानीय शासन अवलम्बन गरी बालमैत्री वडाको रुपमा स्थापित गराउन सक्रिय रहदै आएको उल्लेख छ ।
त्यस्तै यस वडामा समुदाय र विद्यालयमा आधारित गरी जम्मा ९ वटा बालक्लव र एक बालसंजाल रहेको छ । यस वडाले हाल हरेक आर्थिक वर्षमा बालबालिकाका लागि कुल पूजिगत खर्चको १५ प्रतिशत बजेट अनिवार्य रुपमा छ्ट्याउने गरेको छ । हरेक वर्ष बालभेला र योजना छनोट गरी तिनै योजनाहरुलाई पालिदकाको गाउँसभाबाट स्वीकृत गरी कार्यन्वयन गरिदै आएको वडाध्यक्ष तामाङले बताउनुभयो । ताप्ली ३ नम्बर वडामा पछिल्लो गणना अनुसार जम्मा १०८ बालबालिका छन् । जसमा ४८ बालक र ६० बालिका रहेको तथ्यांकले देखाएको छ । त्यस्तै हरेक दुई दुई वर्षमा सो वडाभित्रका बालबालिकाको स्थिती समेत अध्ययन गरी सोही अनुसार कार्ययोजना तयार पारिने पनि उल्लेख छ ।