उदयपुर, असार ९ । उदयपुरका बिभिन्न सामुदायिक बन र खानेपानी उपभोक्ता समूहका पदाधिकारीलाई बन तथा स्रोत व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ । वल्र्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा मानवअधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) उदयपुरले तीन दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको हो ।
आयोजक हुरेण्डेकका अध्यक्ष शंकरबहादुर थापाका अनुसार तालिममा ३४ जना सहभागी थिए । गाईघाटस्थित होटल रत्ना रिसोर्टको सभाहलमा आयोजित कार्यक्रममा जिल्लाको चार गाउँपालिका रौतामाई, ताप्ली, उदयपुरगढी र लिम्चुङबुङसँगै एक नगरपालिका कटारी गरी पाँच स्थानीय तहका बिभिन्न १६ सामुदायिक बन तथा खानेपानी उपभोक्ता समूहका प्रतिनिधि सहभागी थिए ।
तालिममा त्रिभुवन विश्व विद्यालय अन्तर्गत बन तथा जलवायुसम्बन्धी विज्ञ प्राध्यापकहरु डा. कृष्णप्रसाद पोखरेल, केशव बराल र दीपक गौतमलगायतले सहजीकरण गरेको हुरेण्डेकका परियोजना व्यवस्थापक बिकल सुबेदीले जानकारी दिए । तालिममा सहभागीहरुलाई नीतिगत व्यवस्थासँगै स्थानीय चपन, ढिम्की र श्रीपुरको मयुरबन क्षेत्रमा स्थलगत भ्रमण र प्रयोगात्मक ज्ञानबारे जानकारी पनि गराइएको थियो ।
तालिममा जलाधार संरक्षण, मानवीय गतिबिधीबाट उत्पन्न जलवायु प्ररिवर्तन यसबाट सिर्जित असर र समाधानका उपायबारे छलफल भएको थियो । त्यस्तै बलजंगल र पानीका मुहानको संरक्षणका लागि अपनाउनुपर्ने उपायबारे जानकारी गराइएको थियो । कार्यक्रममा वर्डभिजनका उदयपुर संयोजक आनन्द खड्का, हुरेण्डेकका जिविकोपार्जन अधिकृत आशिष खत्रीलगायतको उपस्थिति रहेको थियो ।